•            
    • sajhaonlinetv. com

    • १५ जेष्ठ २०८२, बुधबार ०३:३५

    फ्लोरिकल्चर एशोसिएसन नेपालद्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत अवलोकन भ्रमण सम्पन्न

    काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) द्वारा नर्सरी, कट फ्लावर फार्म र खुद्रा पसलको स्थलगत अवलोकन भ्रमण सम्पन्न भएको छ । फ्यानको कार्ययोजना अनुसार पहिलो चरणमा ‘ फ्यान नर्सरी उप – समिति ’ को आयोजनामा नर्सरी तथा पुष्प व्यवसायसम्बन्धि अवलोकन भ्रमण सम्पन्न भएको हो । वि.सं. २०८२ साल बैशाख २८ गतेदेखि काठमाडौं उपत्यकाभित्र रहेका अधिकांश नर्सरी, केही कट फ्लावर फार्म तथा खुद्रा पसलहरूको स्थलगत अवलोकन भ्रमण फ्यान कार्यसमिति र नर्सरी उप – समितिका पदाधिकारीहरु तथा सदस्यहरूको सहभागितामा सम्पन्न भएको हो ।
    अवलोकन भ्रमणको क्रममा पुष्प व्यवसायसँग सम्बन्धित विविध पक्षहरूमा व्यवसायीहरूसँग गहिरो छलफल गरिएको फ्यानले जनाएको छ । पुष्प व्यवसायीहरूले कच्चा पदार्थ र आवश्यक सेवाहरूको मूल्य निरन्तर बढिरहे पनि फूल तथा बिरुवाहरू न्यून मूल्यमा बिक्री / वितरण हुनु, गुणस्तरहिन फूल बिरुवा सामाजिक सञ्जालमार्फत प्रवर्द्दन हुनु र त्यसबाट बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भई गुणस्तरीय उत्पादनले पनि उचित मूल्य नपाउनुजस्ता समस्याहरू उठाएका थिए । यस्ता समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत मूल्य निर्धारणको अवधारणालाई अघि बढाउनु सकारात्मक पहल भएको भन्दै फ्यानको प्रयासप्रति व्यवसायीहरूले समर्थन जनाएका छन् ।
    यस्तै, अवलोकन भ्रमणका क्रममा बिरुवाको गुणस्तर सुधारका विषयमा पनि सहभागी व्यवसायीहरूबीच महत्वपूर्ण गुनासा, सल्लाह, सुझाव र अनुभवहरूको आदानप्रदान गरिएको थियो । समय अभावका कारण केही व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट हुन नसकेको फ्यानले जनाएको छ । त्यसैले निकट भविष्यमा बाँकी रहेका नर्सरी, कट फ्लावर फार्म, खुद्रा पसल तथा अन्य पुष्पजन्य व्यवसायसँग सम्बन्धित व्यवसायीहरूसँग समेत प्रत्यक्ष भेटघाट तथा अवलोकन भ्रमणलाई निरन्तरता दिइने फ्यानले जानकारी दिएको छ ।
    यसैगरी, अवलोकन भ्रमणमा प्राप्त सल्लाह, सुझाव तथा गुनासाहरूलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यले फ्यानले छिट्टै पुष्प व्यवसायीहरूको भेला आयोजना गर्ने तयारीसमेत गरेको छ । उक्त भेलामा कार्यसमिति, उप – समितिहरू तथा सम्पूर्ण व्यवसायीहरुबीच प्रत्यक्ष अन्तरक्रिया गराई दीर्घकालीन समाधानका उपायहरू तय गरिने प्रतिबद्धता फ्यानले जनाएको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै