काठमाडौं । नेपालमा प्रदर्शनका क्रममा दर्शकको राम्रो प्रतिक्रिया बटुलेको नेपाली फिल्म ‘बेहुली’ अब अमेरिकी दर्शकमाझ पुग्ने भएको छ। नेपालमा आफ्नो प्रभाव छाडेको फिल्मले शुक्रबार, सेप्टेम्बर १८ देखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शन सुरु गर्न लागेको हो।
‘सेभेज सिज इन्टरनेशनल फिल्मस’**ले फिल्मलाई अमेरिकामा प्रदर्शन गर्न लागेको निर्माण पक्षले जनाएको छ। फिल्म एकैपटक अमेरिकाका २३ राज्यका विभिन्न सहरमा रिलिज हुँदैछ।
‘बेहली’ टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ।
नेपालमा प्रदर्शनका क्रममा सकारात्मक प्रतिक्रिया पाएको फिल्मको अमेरिका प्रदर्शनलाई निर्माण टिमले अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
चर्चित संगीतकार अर्जुन पोखरेलको निर्माण रहेको ‘बेहुली’मा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ लगायतका कलाकारको अभिनय छ।
फिल्मले नेपाली समाजभित्रका यथार्थ भावनासँगै युवा पुस्ताको मनोभाव, प्रेम, सम्बन्ध र पारिवारिक संवेदनालाई कथाको केन्द्रमा राखेको छ। नेपाली समाजका परिचित परिवेश र भावनालाई पर्दामा प्रस्तुत गरिएकाले नेपालपछि अब अमेरिकी नेपाली समुदाय र नेपाली फिल्मप्रेमी दर्शकमाझ पनि ‘बेहुली’ले आफ्नो कथा सुनाउने तयारी गरेको छ।
सेप्टेम्बर १८ देखि सुरु हुने अमेरिकी प्रदर्शनसँगै ‘बेहुली’ले नेपालपछि विदेशी बजारमा पनि आफ्नो यात्रा विस्तार गर्ने भएको छ।










