•            
    • sajhaonlinetv. com

    • १० मंसिर २०८३, बुधबार ०९:२०

    गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता, कार्यसमिति र विधान अद्यावधिक

    काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति तथा पार्टी विधान अद्यावधिक गर्ने निर्णय गरेको छ।
    नेपाली कांग्रेसले काठमाडौंमा असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो। सोही निवेदन र आवश्यक कागजातका आधारमा आयोगले मंगलबार बसेको बैठकबाट अद्यावधिक गर्ने निर्णय गरेको हो।
    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको पुष्टि गरेका छन्। उनका अनुसार आयोगको अघिल्लो दिनको बैठकले महाधिवेशनबाट प्राप्त विवरणलाई दल दर्ता किताबमा अद्यावधिक गर्ने निर्णय गरेको हो।
    १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले आयोग पुगेर विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक दस्तावेज र महाधिवेशनका निर्णयहरू बुझाएको थियो।
    राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले आफ्नो पदाधिकारी वा कार्यसमितिमा परिवर्तन गरेमा त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार आयोगले नेपाली कांग्रेसको नयाँ नेतृत्व तथा विधानसम्बन्धी विवरण अद्यावधिक गरेको हो।
    आयोगको निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधानसम्बन्धी विवरण निर्वाचन आयोगको अभिलेखमा अद्यावधिक भएको छ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै