काठमाडौं । नायिका तथा मोडल सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गर्दै भइरहेका अनावश्यक तथा आपत्तिजनक गतिविधि तत्काल बन्द गर्न आग्रह गरेकी छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै पछिल्लो केही महिनायता आफूलाई लक्षित गरी निरन्तर रूपमा कमेन्ट, म्यासेज तथा अन्य गतिविधि भइरहेको बताएकी हुन् । उनका अनुसार व्यक्तिगत सामाजिक सञ्जाल अकाउन्टबाट ब्लक गरेपछि समेत पटक–पटक नयाँ अकाउन्ट बनाएर सम्पर्क गर्ने र विभिन्न पोस्टमा टिप्पणी गर्ने क्रम रोकिएको छैन ।
आफूसँग सम्बन्धित समाचार, सामाजिक सञ्जालका पोस्ट तथा सार्वजनिक सामग्रीमा समेत एउटै प्रकृतिका अनावश्यक टिप्पणीहरू आउने गरेको उनले उल्लेख गरेकी छन् । यस्तो गतिविधिले व्यक्तिगत तथा व्यावसायिक जीवनमा समेत असर पार्न सक्ने भन्दै उनले सम्बन्धित व्यक्तिलाई यस्ता कार्य तत्काल रोक्न सचेत गराएकी छन् ।
विभिन्न नाम तथा अकाउन्टबाट भइरहेका गतिविधि एउटै व्यक्तिसँग सम्बन्धित हुनसक्ने आशंका रहे पनि त्यसको वास्तविकता आफूले यकिन गर्न नसक्ने भट्टराईले स्पष्ट पारेकी छन् । यस विषयमा आवश्यक परे सम्बन्धित निकायमार्फत अनुसन्धान गराउने उनको भनाइ छ ।
अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि नरोकिएमा आफू कानुनी प्रक्रियामा जाने चेतावनीसमेत उनले दिएकी छन् । साथै, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि जिम्मेवार र मर्यादित रूपमा प्रस्तुत हुन उनले आग्रह गरेकी छन् ।










