२५ भदौ, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेका हुन्। मन्त्रालयमा सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री साहले मन्त्रालयमा यसअघि भएका काम तथा उपलब्धिबारे जानकारी लिएर आगामी कार्ययोजना अघि बढाउने बताए। उनले विगतका निर्णय र प्रगतिबारे अध्ययन गरेपछि प्राथमिकताका आधारमा काम गर्ने संकेत गरेका छन्।
विशेषगरी आम नागरिकले सहज रूपमा खाना पकाउने ग्यास पाउने अवस्था रहने वा नरहने भन्ने पत्रकारको प्रश्नमा मन्त्री साहले मन्त्रालयभित्र आवश्यक छलफल गरेपछि मात्रै ठोस निर्णय सार्वजनिक गर्ने बताए।
‘यसमा चाहिँ छलफल गरेर काम गर्छु,’ मन्त्री साहले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ।’
नयाँ जिम्मेवारी सम्हालेसँगै आफूले सबैभन्दा पहिले निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग छलफल गर्ने पनि मन्त्री साहले बताए।
विगतमा मन्त्रालयबाट भएका काम, निर्णय र बाँकी विषयबारे निवर्तमान मन्त्रीसँग जानकारी लिएर अघि बढ्दा आगामी काम सहज हुने उनको भनाइ छ।
‘पहिलो मेरो प्राथमिकता भनेको मन्त्रीजीसँग कुरा गरेर विगतमा के–के भएको थियो भन्ने जानकारी लिएर अगाडि बढ्नु हो,’ मन्त्री साहले भने।










