काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा पदबाट राजीनामा दिने तयारी गरेका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि बहुमत नपुग्ने देखिँदा उनले राजीनामा गर्न लागेको एमाले स्रोतले जनाएको छ।
बिहान बोलाइएको बैठक सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि दिउँसो २ बजेसम्म सारिएको हो। एमालेका प्रमुख सचेतक हरिनारायण महतोले विश्वासको मत पाउने सम्भावना नभएकाले राजीनामाकै सुझाव दिएको बताए।
यादवले पनि आफ्ना नजिकका नेतासँग राजीनामाको भाषा तय भइरहेको बताएका छन्। उनी कात्तिक २३ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्ति मुद्दा सर्वोच्चमा रहेकै बीच राजनीतिक विवादले प्रदेश प्रमुख र सभामुख दुवै फिर्ता/हटाइएका छन्।










