डविड मलान र अर्जुन साउदको शतकीय साझेदारीको बलमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्ससमक्ष १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो।
ओपनर मलान र साउदले पहिलो विकेटका लागि १३.४ ओभरमा १ सय १२ रनको उत्कृष्ट साझेदारी गर्दै ठूलो स्कोरको आधार तयार पारे। यो यस संस्करणको एनपीएलमा पहिलो विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो।
मलानले ५४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन जोडे। उनी माज सदाकतको बलमा एलबीडब्लु आउट भए। उनले ३७ बलमै २ चौका र ४ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए।
अर्का ओपनर अर्जुन साउदले ३९ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए। उनी लफ्टी इटोनको बलमा सञ्जय कृष्णमुर्तिको हातबाट क्याच आउट भए। अर्जुनले ३७ बलमा अर्धशतक पूरा गरेका थिए।
कप्तान कुशल मल्ल ३० रन र अमर राउटेला १ रनमा अविजित रहे। सैफ जैव ७ रनमा आउट भए भने रवि वोपारा ३ रनमा पवेलियन फर्किए।
जनकपुर बोल्ट्सका लागि अनिल साह, माज सदाकत, लफ्टी इटोन र रूपेश सिंहले प्रत्येकी १ विकेट लिए।
अब चाँडै जनकपुरले लक्ष्य पछ्याउने छ।










