काठमाण्डौ-प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’ को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार एक कार्यक्रमकाबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै दर्शकमा उत्सुकता बढाएको हो।
सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्धभित्र लुकेको तनाव, सामाजिक द्वन्द्व र गहिरो मानवीय संवेदनालाई उजागर गर्छ। विशेषगरी प्रकाश सपुत र सुहाना थापाबीचको दाम्पत्य सम्बन्धमा आएको चिरा ट्रेलरको केन्द्रमा देखिन्छ।
घरभित्रको झगडा, हिंसा र त्यसले निम्त्याएको मानसिक पीडाले कथा गम्भीर बन्दै जान्छ। श्रीमतीमाथि हिंसा गरेपछि उनलाई खोज्न निस्किएको पात्रमार्फत पश्चाताप, पीडा र सम्बन्ध जोगाउने संघर्षलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा सौगात मल्ल र सिर्जना अधिकारी छिमेकीको भूमिकामा देखिएका छन्, जसको जोडी स्वाभाविक र जीवन्त लाग्छ। गाउँघरको परिवेश, छिमेकी सम्बन्ध र समाजका सूक्ष्म पाटा ट्रेलरमा सजीव रूपमा उतारिएको छ।
फिल्मले ग्रामीण समाजभित्र लुकेको घरेलु हिंसा, सम्बन्धमा अविश्वास, पश्चाताप र अन्ततः मेलमिलापको विषय उठाउने संकेत गर्छ। समग्रमा ट्रेलरले कथालाई रहस्यमय र भावनात्मक बनाउँदै दर्शकलाई सोच्न बाध्य बनाउँछ।
यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापाले पहिलोपटक सहकार्य गरेका हुन्।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारीलगायत कलाकारहरूको अभिनय छ। हरि ओम सिने मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्।
गुरूप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ बाट प्रेरित फिल्मको लेखन सुशील देवकोटाले गरेका हुन् भने छायांकन संकल्प भुजेल र सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
‘परालको आगो’ वैशाख ११ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।










