काठमाण्डौ ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकता सम्झौता दुई साता नपुग्दै भाँडिने संकेत देखिएको छ। सहमति कार्यान्वयन र वरीयताको विषयमा कुरा नमिलेपछि कुलमान घिसिङ रास्वपासँग सहकार्य नगरी आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी अघि बढाउने निष्कर्षमा पुगेका छन्।
रास्वपा सभापति रवि लामिछानेसँग भएको पछिल्लो छलफलबाट पनि समाधान ननिस्किएपछि कुलमानले निकट नेताहरूसँग छुट्टै बाटो रोज्ने निर्णय साझा गरेका हुन्। केन्द्रीय समितिको संख्या र समानुपातिक सांसद प्राथमिकतामा सहमति नजुट्दा एकता सम्भव नदेखिएको उज्यालो नेपाल पार्टीका नेताहरूको भनाइ छ।
अब उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्ने र समानुपातिकतर्फ वैकल्पिक दलसँग सहकार्य गर्ने ‘प्लान बी’ मा केन्द्रित हुने तयारी भइरहेको छ। यद्यपि, केही नेताहरूले अझै रास्वपासँगको एकता जोगाउन पहल जारी राख्नुपर्ने धारणा राखेका छन्।










