गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले नागरिकता विधेयकका सम्बन्धमा छलफल गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
प्रचन्ड निबास ललितपुरको खुमलटारमा आज बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले साझा अनलाईन टिभी लाई जानकारी दिएको छ।
प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरू बीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका थिए ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् ।










