काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामाथि निष्पक्ष अनुसन्धान गरी दोषी ठहर भए कडा कानुनी कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङले माग गरेका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा भएको घरेलु विवादपछि ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको घटनाले व्यापक चर्चा पाएको छ। घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ४२ वर्षीय थापामाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।
शनिबार पूर्वगृहमन्त्री गुरुङ घटनाबारे जानकारी लिन बालाजु प्रहरी वृत्त पुगेका थिए। उनले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित बनाउन प्रहरीलाई आग्रह गरेका छन्। गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेटघाट गरी परिवारको अवस्थाबारे जानकारी समेत लिएका थिए।
मृतक ईश्वरी भुजेल नेपाली सेनामा कार्यरत थिइन्। उनी गोरखाकी स्थायी बासिन्दा थिइन् भने गुरुङ पनि गोरखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।
प्रहरीका अनुसार घरायसी विवाद चर्किएपछि थापाले फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफूलाई ‘प्रो रेस्लर’ भनेर चिनाउने थापा हाल प्रहरी नियन्त्रणमा छन् र घटनाको थप अनुसन्धान जारी रहेको छ।










