काठमाडौं । आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘लज्जावती’ को बहुप्रतीक्षित ट्रेलर आज सार्वजनिक गरिएको छ। ट्रेलरले प्रेम, रोमान्स, विश्वास, धोका र भावनात्मक द्वन्द्वको कथा प्रस्तुत गर्दै दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढाएको छ।
सार्वजनिक ट्रेलरमा प्रेम सम्बन्धका विभिन्न उतारचढावसँगै जीवनमा आउने संघर्ष, पारिवारिक सम्बन्ध र अप्रत्याशित घटनाक्रमलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। रोमान्टिक दृश्यसँगै भावनात्मक र सस्पेन्सपूर्ण क्षणहरूले ट्रेलरलाई अझ प्रभावशाली बनाएको छ। कलाकारहरूको अभिनय, संवाद, छायांकन र पृष्ठभूमि संगीतले चलचित्रप्रति सकारात्मक अपेक्षा जगाएको छ।
राजबहादुर साने निर्देशित चलचित्रका प्रस्तुतकर्ता सौरभ ओली हुन्। आहा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र मल्टिभिजन आईएनसीको सहकार्यमा तयार गरिएको हो। चलचित्रका निर्माता कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका हुन् भने दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा समावेश गरिएको चर्चित गीत ‘दिलको मोटर’ मा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ। गीतमा सहिमा श्रेष्ठ र रवि ओडको स्वर रहेको छ भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफीले गीतलाई आकर्षक बनाएको छ।
चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।
दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई देशव्यापी रूपमा कुबेर सिने डिस्ट्रिब्युसन ले वितरण गर्नेछ।
प्रेम, सम्बन्ध, विश्वास र धोका वरिपरि घुम्ने कथावस्तु बोकेको ‘लज्जावती’ को ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता थप बढेको निर्माण पक्षको विश्वास रहेको छ।










