चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओबादी केन्द्रकी नेत्री रेनु दाहाल निर्वाचित भएकी छन् । नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार ४४९ मतान्तरले पराजित गर्दै रेनु निर्वाचित भएकी हुन्।
मतगणना केहिबेर अघि सकिएको हो। रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए। रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन्। विजय एमाले-राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।

रेनु भरतपुर महानगरको निवर्तमान प्रमुखसमेत हुन्। २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन्।
दोस्रोपटकमा भने रेनु १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन्। रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए।
यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्।
अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन्। अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन्।










