काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायत सबै पदाधिकारीहरुले आज सोमबारदेखि पदभार ग्रहण गरेर औपचारिक काम थालेका छन् ।
मेयर बालेन्द्र शाह कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयसमेत गरे। यो निर्णयसँगै सोमबार नै कार्यपालिकाको पहिलो बैठक लाइभ गरियो।
नगरसभाको बैठकमा ११ नम्बर वडाका वडाअध्यक्ष हिरालात तण्डुकारले मेयरलाई प्रश्न गरे– शपथ खानेबेलामा गोपनीयता, यो (बैठक) चाहिँ ओपनीयता भएन ? आफ्नो वडा कार्यालय भवन निर्माणका लागि पहल गरिदिन वडाध्यक्ष तण्डुकारले मेयर र उपमेयरलाई आग्रह गरे।
त्यसैगरी वडानम्बर २ का वडाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेको बताउँदै मेयर साहेब पपुलर भएकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताए। साथै, उनले खरीद ऐन तुरुन्त संशोधन गर्न आग्रह गरे।
मेयर बालेन्द्र शाहले आज परिचयात्मक कार्यक्रम मात्रै गरिएको भए पनि एजेण्डाहरु आउनु राम्रो भएको बताए।
बैठकमा जनप्रतिनिधिले प्रश्न उठाए– आज फोहोर कसले उठाइरहेको छ, महानगरले उठाएको छ कि माफियाले?
काठमाडौं महानगरपालिकाको नगरसभाको बैठकमा विभिन्न सातवटा एजेन्डामाथि छलफल भइरहेको छ।










