•            
    • sajhaonlinetv. com

    • २९ जेष्ठ २०७९, आईतवार ११:३०

    काठमाडौं महानगरपालिकाको नगर सभाको अधिवेशन असार ५ गते गर्ने निर्णय

    काठमाडौँ महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशन असार ५ गते हुने भएको छ।  आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेशनको मिति तोकेको हो। बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आह्वान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गरेका थिए। 
    यी प्रस्तावहरुमा छलफल  गर्दै बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन्। 
    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था छ । समितिको सदस्य सचिवमा राजस्व विभागका प्रमुख रहनेछन्।   

    यसमा उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योगसम्बन्धी संस्थाका प्रतिनिधि सदस्य रहनेछन्।  

    समिति संयोजकहरुको नाम अनुमोदन
    बैठकमा प्रमुख शाहले पेश गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन भएको छ। 

    यसअनुसार सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के. सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहेका छन्। 

    वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर छन्। 

    यस्तै शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन्।  

    प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख शाहले, महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयहरुबीच समन्वय बलियो बनाउँदै गएपछि अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने बताए। 

    उनले भने, ‘साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यसमा सबै सँगै हुनुपर्छ।’

    त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पूर्वतयारीसहित गरिएको बैठक उपलब्धीमुलक भएको उल्लेख गरिन्। साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ थियो । 

    बैठकमा विविधमाथि छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए। 

    फोहोरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन, सामाजिक तथा सांस्कृतिक विषयहरु उनीहरुका प्रमुख विषय थिए । 

    कार्यपालिका सदस्यहरुले उठाएका प्रश्नहरुको प्रमुख शाहले उत्तर दिएका थिए। 

    ‘आउँदो ३ दिनभित्रमा ब्रुमर सञ्चालनमा आउनेछन् । नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्नुहुनेछ । हामी विकास साझेदारहरुसँग हरेक महिनाको पहिलो सोमबार बैठक बस्दैछौँ । त्यसबाट विकासमा देखिएको असमन्वय कम हुँदै जानेछ’, उनको जवाफ थियो ।      

    बैठकमा ईश्वरमान डंगोल, विमलकुमार होडा, दिनेश महर्जन, चिनीकाजी महर्जन, मुकुन्द रिजाल, न्हुच्छेकाजी महर्जन, उदयचुडामणि बज्रचार्य, मीना सिंह, बालकृष्ण महर्जन, भुवन लामा, सुमन श्रेष्ठसहित सदस्यहरुले धारणा राखेका थिए। 

    त्यसैगरी नविन मानन्धर, सरोज ढकाल, मीना सिंह, महेश नेपाली, अनिता कार्की ढलीले नगरबासीको वीमा, जेष्ठ नागरिकलाई विश्राम गर्ने ठाउँको व्यवस्था, निकायगत समन्वयबाट प्रभावकारी कार्यक्रम सञ्चालन, अरुले गल्ती गर्ने महानगरका जनप्रतिनिधिले गाली खानुपर्ने अवस्थाको अन्त्यलगायत विषय उठाएका थिए।  

    बैठकमा प्रमुख शाहले कार्यपालिका सदस्य मीना सुनारलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। यसअघिको शपथमा उनी पारिवारिक कारण सहभागी हुन सकेकी थिइनन्। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै