•            
    • sajhaonlinetv. com

    • २९ असार २०७९, बुधबार १४:१०

    सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्न संसदीय विशेष समिति पुग्यो अर्थ मन्त्रालय

    पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।

    बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो ।

    त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

    समितिका सदस्यहरुलाई अर्थ मन्त्रालयका प्राविधिकहरुले त्यसबारे जानकारी गराएको पनि बताए । ‘समितिका सदस्यहरु, सचिवालयका कर्मचारीहरुसहित अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गर्‍यौं । र, मूलतः त्यहाँको लेआउटको सन्दर्भमा निरीक्षण थियो ।सीसीटीभी क्यामेरा कसरी जडान भएका छन । कुन–कुन कार्यकक्षमा कसरी त्यसको संरचना बनाइएको छ ? र, त्यसको कन्ट्रोल मकानिज्म के छ ? प्राविधिक क्षेत्रका साथीहरुले त्यसबारे जानकारी गराउनुभयो । दोहोरो संवाद भएन ।

    समितिले सो घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार (भोलि) दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरु समितिलाई उपलब्ध गराउन बुधबार बिहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि सचिव अर्यालले जानकारी दिए ।

    निवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् ।

    सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा सदस्य छन् ।

    त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादी केन्द्र बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै