प्रतिनिधि सभाको बैठक आज पनी बस्दै छ । आज बसेको बैठकमा उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ।
२०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ। त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएका हुन्।
बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
जसअनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजे सुरु गर्ने कार्यक्रम छ। उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने विवरण संसद सचिवालयले जनाएको छ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।
संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्।










