प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिएका छन्।
मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई सचेत समेत गराए।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका थिए भने अन्य मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराएका थिए।
प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले भने, ‘आज मुख्यतयाः सबै मन्त्रीजीहरुले आ–आफ्नो मन्त्रालय र मुलुकको वर्तमान अवस्थाको बारेमा संक्षेपमा धारणाहरु राख्नु भयो। र, मुलुकको अर्थतन्त्रको बारेमा अर्थमन्त्रीजीले केही धारणाहरू राख्नु भएको छ। र, सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको हितलाई सर्वोपरी ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका निमित्त तपाईहरु समर्पणका साथ अगाडि बढनुहोस्। अब हामी चाँडै नै चुनावको चरणमा प्रवेश गर्दैछौं। त्यो कुरालाई पनि ध्यानमा राखेर तपाईहरु अगाडि बढ्नुहोस् भनेर निर्देशन दिनु भएको छ।’










