प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
‘दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ,’ ती मन्त्रीले भने, ‘सायद आजको बैठकबाट चुनावको मिति घोषणा हुनसक्छ’
यद्यपी बैठकका कार्यसूचीबारे भने मन्त्रीहरुलाई जानकारी गराइएको छैन्। बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी ४ मंसिर गते आम निर्वाचन गर्ने सहमति गरेको थियो।
यसअघि निर्वाचन अयोगले २ मंसिरमा निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो।
आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सत्ता गठबन्धनको सहमति छ।
गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो। तर, मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो।
तर दलहरूबीच संसद्को आयुलाई लिएर भने विवाद छ। डा. भीमार्जुन आचार्यसहितका केही संविधानविद्ले चुनाव घोषणासँगै संसदको आयु पनि सकिने तर्क गरिरहेका छन्।










