नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएको लामो समय पछी आज शनिबार पदाधिकारीले पूर्णता पाएको छ । शनिवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अध्यक्षसहित २१ सदस्यीय पदाधिकारी टुङ्गो लगाएको हो ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, सात उपमहासचिव र नौ सचिव र एक कोषाध्यक्ष सहित २१ पदाधिकारी बनाएको हो । अध्यक्षमा यसअघि नै प्रचण्ड चयन भइसकेका थिए । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ सर्वसम्मत रूपमा चयन भएका छन् । यस्तै उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव छन् । यस्तै सचिवहरूमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की छन् । कोषाध्यक्षमा पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई बनाएको छ । यस्तै पार्टी केन्द्रीय समिति ३४१ सदस्यीय बनाए पनि नामावली सार्वजनिक गरिएको छैन । पोलिटब्यूरो १२५ जना र वैकल्पिक पोलिटब्यूरो ३१ जनाको बनाइएको हो । यस्तै स्थायी समितिमा बस्ने ४३ जनाको फाइनल गरिएको छ । आइतबार सबै प्राविधिक विषय मिलाएर मातहतका कमिटीमा सर्कुलर पठाइने प्रचण्डको सचिवालयले जनाएको छ । त्यसपछि मात्रै स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा बस्ने नेताको पद यकिन हुनेछ










