काठमाडौँ — पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड “ले बाराको जीतपुर–सिमरा सडकखण्डमा हिजो बिहान भएको बस दुर्घटनामा ठूलो संख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको जनाएका छन् ।
हिजो बिहीबार वक्तव्य जारी गर्दै उनले दुर्घटनाका मृतकमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । सो दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।










