सत्ता गठबन्धनका शीर्ष नेताहरू आइतबार गठबन्धनको पहिलो चुनावी सभामा सहभागी भए । काठमाडौं क्षेत्र नं. २ मा गठबन्धनले गरेको सभामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरे ।
गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको भन्दै संविधानको रक्षा, विकास र आर्थिक समृद्धिका लागि देशभर गठबन्धनलाई जिताउनुपर्ने नेताहरूको जोड थियो ।
रोचक त के भने गठबन्धनको पहिलो चुनावी सभामा बोलेका माओवादी केन्द्रका अध्यक्ष दाहाल र समाजवादीका अध्यक्ष नेपालले सम्बोधन गर्दा ‘लाल सलाम’ सँगै ‘जय नेपाल’ भनेर सम्बोधन सुरू गरे । प्रधानमन्त्री देउवाले भने सम्बोधनमा अभिवादन गरेनन्, बरू दाहाललाई हँसिया हथौडा र नेपाललाई कलम चुनाव चिन्ह भनेर चिनाए ।
सभामा बोल्दै देउवा, दाहाल र नेपालले सत्ता गठबन्धन र सरकारको गुणगान त गाए नै, तर त्योभन्दा धेरै यहाँबाट उम्मेदवार बनेकी ओनसरी घर्तीलाई जिताउन आग्रह गरे, उनको प्रशंसा गरे, मन्त्री बनाउने वचन समेत दिए । नेताहरूको बोलीमा रोल्पाबाट काठमाडौं आएर उम्मेदवारी दिएकी घर्तीलाई जिताउन शीर्ष नेताहरूको जोडबल प्रष्टै झल्किन्थ्यो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेका थिए । ‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ । उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो,’ देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो ।’










