पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सिधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे ।
तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फक्र्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न जाँदा धुँवोको मुस्लो निकाल्दै आगो बलिरहेको रहेछ । जहाज आधा ऊँधो रहेछ, आधा त माथि जलिरहेको रहेछ,’ गुरुङले भने, ‘यस्तो घटना मैले थाहा पाएको थिइनँ ।
सेती नदीनजिकै घर भएका विकास बस्यालका अनुसार ठूलो आवाज निकाल्दै जहाज खोंचतिर बजारियो । खोंचबाहिरको डिलमा ठोक्किएपछि जहाजबाट केही मानिस उछिट्टएिको उनले देखेका थिए ।
यती एयरलायन्सको नाइन एन-एएनसी जहाज आइतबार विहान दुर्घटनापछि आगलागी भएर धुँवाको मुस्लोले पोखराको आकाश नै ढाकियो, दुर्घटनाको हल्ला बजारैभरि फैलियो र दगुर्दै मानिसहरु त्यतै जान थाले । सञ्चारमाध्यममा ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भएको समाचारहरु पनि आउन थाले । एकैछिनमा ठूलो भीड पोखराको सेती खोंच आसपासमा देखियो ।