काठमाडौं । नायिका झरना थापाको निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’ को पोस्टर सार्बजनिक भएको छ । यही भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिमले आज शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । फिल्मका शीर्ष पात्रलाई समेटेर सार्वजनिक गरिएका पोस्टरले चरित्र चित्रणबारे धेरै कुरा देखाउँछ ।
पहिलो पोस्टरमा विपिन कार्कीलाई उनको पारालैंगिक महिलाको चरित्रमा देख्न सकिन्छ । कमलामाई नामक पात्रमा उनले रातो सारी र आभूषण लगाएर पूजा आराधना गर्न लागेको देखिन्छ ।
अन्य पोस्टरमा धीरज मगर र सुहाना थापा चित्रित छन् । अर्को एक पोस्टरमा धीरज र सुहानालाई रोमान्टिक अवतारमा पेश गरिएको छ भने अर्को एक पोस्टरमा सुहानालाई बालकसँग देख्न सकिन्छ । यी तीन पोस्टरले चरित्रको मुडलाई दर्शाएको छ ।
निर्माता सुनिलकुमार थापाले पोस्टर रिलिजसँगै प्रचारप्रसार सुरु भएको बताए । ‘आजबाट हामी पब्लिसिटीमा उत्रिएका छौं । अब देशव्यापी आक्रामक रुपमा दर्शकमाझ प्रचार लिएर जान्छौं,’ थापाले अनलाइनखबरसँग भने ।
यो फिल्मलाई जनकपुरको जानकी मन्दिर र पोखराको सेटिङमा छायांकन गरिएको हो । फिल्मलाई सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।