धरानमा निषेधाज्ञा जारी छ। निषेधाज्ञा जारी भएपछि धरान शान्त र सुनसान छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।
धार्मिक र साम्प्रदायिक विषयलाई लिएर धरान अशान्त बन्ने खतरा उत्पन्न भएपछि प्रशासनले शुक्रबार मध्यरातदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञा जारी भएपछि धरानमा कुनै पनि उच्छृंखल गतिविधि नरहेको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साझा अनलाईनलाई जानकारी दिइन्।
शुक्रबार नै धरानका मेयर हर्क साम्पाङ र त्यहाँका सबै राजनीतिक दलहरूले संयम अपनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेका थिए।
धरान, इटहरी, विराटनगर लगायतका क्षेत्र शान्त भए पनि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ।
धरान उपमहानगरको सीमा क्षेत्र सुरू हुने इटहरी-२० पानीपियाबाट निषेधाज्ञा तोकिएको छ। शान्ति सुरक्षा सुनिश्चित गर्न एक हजार जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डेले जानकारी दिइन्।










