प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई दिन तयार गरिएको भवन उद्घाटन गरेका हुन् ।
आइतबार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय भवनको साँचो जिम्मा लिएका छन् । सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको हो । सरकारले औसत एउटा भवन निर्माण गर्न जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेको छ । सबै भवनहरुको लागत करिब ८५ करोड रुपैयाँ हो ।
शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार प्रदेश प्रुमख र मुख्यमन्त्रीलाई राजधानीमा सुविधासम्पन्न भवन बनाउने सरकारी नीति अनुरुप यी भवन निर्माण गरिएको हो ।
‘उहाँहरुलाई काठमाडौंमा सम्पर्क कार्यालय राख्न र यहाँ आउँदा बास बस्न भवन निर्माण गरिएको हो’, उनले भने, ‘एकै ठाउँमा रहेका सातवटै प्रदेशका यी भवनहरुले अन्तरसरकारी समन्वयमा सघाउने अपेक्षा गरेका छौं ।
उनका अनुसार भवन निर्माण गरिएको संयुक्त आवास क्षेत्रको सुरक्षाका लागि शहरी विकास मन्त्रालयले गृह मन्त्रालयसँग अनुरोध गरिसकेको छ ।
भवन रहेको क्षेत्रको बीचमा वाटर फाउन्टेन निर्माण गरिएको छ । बगैँचा बनाएर फलफूलका बोटविरुवा रोपिएका छन् । भवनहरुमा बोरिङको पानी आपूर्ति गर्ने गरी १ लाख २७ हजार लिटरको भूमिगत ट्यांकी निर्माण गरिएको छ ।
आकाशे पानी संकलन गर्न ६० हजार लिटरको अर्को ट्यांकी बनाइएको छ । फोहोरपानी प्रशोधन गर्न प्रशोधन केन्द्र पनि निर्माण गरिएको छ । आवासीय भवनहरुमा विद्युत अवरुद्ध भएमा डिजेल जेनेरेटरबाट विद्युत आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।
लहरै बनेका भवनहरुमा सात वटा प्रदेशहरुको नाम लेखिएको छ । ७ वटा भवनहरुलाई १४ वटा ब्लकमा विभाजन गरिएको छ । सबै भवनको डिजाइन एकै खालको छ । त्यसको भित्रका ब्लक र इन्टेरियरसम्मको डिजाइन पनि समान छ । प्रत्येक भवनमा एकातर्फको ब्लकमा प्रदेश प्रमुख र अर्कोतर्फ मुख्यमन्त्रीको कार्यालय तथा निवास राखिएको छ ।
विशेष भवन निर्माण आयोजनाकी आर्किटेक्ट इन्जिनियर अस्मिता शाक्यका अनुसार प्रत्येक ब्लकमा छिर्नासाथ सुरुमै ‘रिसेप्सन’ डेस्क छ । सो कक्षमा आगन्तुकहरुलाई कुर्नका लागि आरामदायी सोफासेट सजाइएको छ ।
सोसँगै प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि कार्यालय छ । मुख्यमन्त्री वा प्रदेश प्रमुखका सहयोगी तथा स्वकीय सचिवहरुका लागि अर्को कार्यकक्ष पनि छ ।
सोही तलामा महिला र पुरुषहरुका लागि छुट्टाछुट्टै शौचालय बनाइएका छन् । ‘भुइँतल्लामा सर्वसाधारण पनि आउन सक्ने भएकाले यहाँ कार्यालयदेखि सर्वसाधारणसम्मलाई हुने गरी कक्ष र शौचालयहरु तयार गरिएको छ’, शाक्यले भनिन् ।
त्यसपछि पहिलो तल्लामा निजी प्रयोजनका आवासीय कक्षहरु छन् । यो तलामा सुरुमै फराकिलो ‘लिभिङ रुम’ छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि अट्याच बाथरुमसहितको ‘मास्टर बेडरुम’ छ । परिवारका सदस्यका लागि अर्को ‘बेडरुम’ पनि छ । त्यसै तलामा अध्ययन दोस्रो तलामा ‘फेमिली बैठक’ कक्ष छ । पाहुना सुत्न बस्न छुट्टै कोठा छ । आधुनिक सजावटसहितको भान्साकोठा र भण्डार कक्ष पनि छ ।
यसरी प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुलाई काठमाडौं आउँदा बिलासी सुविधासहित बस्न पाउने गरी भवन तयार गरिएको छ । शहरी विकास सचिव श्रेष्ठ यो भवन सञ्चालन तथा व्यवस्थापनका लागि एउटा कार्यविधि बनाइने बताउँछन् । संघीय सरकारले तोकेअनुसार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय र आवास व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
‘उहाँहरुले तयार राखिदिन भनेको ३ दिनभित्र सबै सरसफाइ र व्यवस्थापनको काम सकेर जिम्मा दिन्छौं’, श्रेष्ठले भने,‘केही भवनमा टिभी र पर्दा जोड्ने लगायतका काम मात्र बाँकी छन् ।
२०७६ असोजमा यी भवन निर्माण गर्न केसी समानान्तर जेभीले ठेक्का पाएको थियो । इन्टेरियर डिजाइनको काम भने न्यू टेक्निकल इन्फ्रा जेभीले पाएको थियो ।
अहिलेसम्म भौतिकतर्फ ९८ प्रतिशत र इन्टेरियरतर्फ ९१ प्रतिशत काम सकिएको सचिव श्रेष्ठले बताए । ‘काम नसकी किन उद्घाटन गर्न हतारिनुभएको ? भन्ने अनलाइनखबरको प्रश्नमा भने, ‘भौतिकतर्फ केही सरसफाइको काम बाँकी हो, इन्टेरियरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले तयार राखिदिन भने पनि टिभी र पर्दा जोडेर सफाइ गरेर दिइहाल्न सकिने अवस्था छ ।
हाल सरकारले धापाखेलको डाउनटाउन अपार्टमेन्टमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि मासिक ७ लाख रुपैयाँ भाडामा लिएर प्रयोग गर्न दिएको छ । अब उनीहरु भैंसेपाटी सर्नेछन् ।










