कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय ‘मानवीयताका आधारमा युद्धविराम’ गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ ।
कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ ।
सुरुमा ४ दिन युद्ध रोक्ने सहमति भए पनि त्यो लम्बिन सक्ने कतारी विदेश मन्त्रालयले जनाएको छ । सुरुमा बालबालिका र महिलासमेत गरी हमासले ५० जना बन्धक र इजरायलले इजरायली जेलमा रहेका महिला र बालबालिका छाड्ने सहमति भएको कतारले जनाएको छ । कतारले दुई पक्षबीचको द्वन्द्व रोक्न, मानवीय क्षति कम गर्न कूटनीतिक प्रयास जारी रहेको र यसमा आफू प्रतिबद्ध रहेको पनि जनाएको छ ।
इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको हो । इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ । कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो । सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए । त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो ।
सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ । हमासले पनि टेलिग्राममा बयान जारी गर्दै ‘मानवीय आधारमा युद्धविरामका लागि सहमति’ भएको जनाएको छ । हमासले इजिप्ट र कतारलाई मध्यस्थताका लागि धन्यवादसमेत दिएको छ ।










