एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान नेपालले काठमाडौँको छुट्टाछुट्टै स्थानमा बिहीबार गरेको शक्ति प्रदर्शन तनावरहित बन्न सकेन । दुवै पक्षले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेपनि यसविपरीत प्रसाईं समूहको प्रदर्शन झडपमा परिणत बन्न पुग्यो ।
प्रसाईंलाई प्रदर्शन गर्न प्रशासनले बल्खु चोकमा अनुमति दिएको थियो भने महेश बस्नेत इन्चार्ज रहेको राष्ट्रिय युवा संघलाई तीनकुने तोकिएको थियो । विपरीत दुई ध्रुवको कार्यक्रमका कारण बिहीबार उपत्यकाको यातायात प्रभावित बन्न पुग्यो भने शैक्षिक संस्था प्राय ठप्प भए ।
दुवै पक्षले फरक–फरक मुद्दा उठाएर शक्ति प्रदर्शन गरेका हुन् । तर एक अर्काप्रति उनीहरू आक्रोशित देखिन्थे । बस्नेत नेतृत्वको समूहले तीनकुनेमा गरेको शक्ति प्रदर्शन शान्तिपूर्ण भए पनि बल्खुमा प्रसाईं समूहले गरेको प्रदर्शनमा दिनभरजसो तनावको स्थिति पैदा भयो । प्रसाईं समर्थकले कहिले प्रहरीको घेरा तोड्न खोज्ने त कहिले युवा संघको र्यालीसँग जम्काभेट हुँदा झडपको स्थिति उत्पन्न भएको प्रत्यक्षीदर्शी र सुरक्षाकर्मीको भनाइ थियो । झडप र अशान्ति पैदा गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पानीको फोहराका साथै अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । प्रशासनले बल्खु र तीनकुने क्षेत्रमा बिहीबार बिहानैबाट उल्लेख्य मात्रामा सुरक्षाकर्मी तैनाथ राखेको थियो ।










