काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ अन्तरास्ट्रिय क्षेत्रमा ख्याती कमाएको नेपाली चलचित्र ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै सुन्धारास्थित सिडिसी सिनेमामा फिल्म हेरेपछि उनले फिल्मको शैली र शिल्पप्रति जिज्ञासा व्यक्त गरेका छन् ।
फिल्म हेर्दै उनले ‘द रेड सुटकेस’ जस्तो आजसम्म कतै पनि नहेरेको प्रतिक्रिया दिए । फिल्म सकिएपछि निर्देशक फिडेल देवकोटालाई प्रतिक्रिया दिने क्रममा उनले ‘द रेड सुटकेस’को शैली प्रति जिज्ञासा राखेका थिए । उनले यो फिल्मलाई फरक र अनौठो संज्ञा दिए ।
‘यस्तो खाले नेपाली फिल्म पहिले कहिल्यै बनेको छ ? कस्तो फिल्म भन्छन् यसलाई ?’ बाबुरामको प्रश्न थियो । जवाफमा लेखक तथा निर्देशक फिडेल देवकोटाले आफूले म्याजिक रियालिजमको प्रयोग गरेर फिल्म बनाएको बताएका थिए ।
बाबुरामले फिल्मको विषयवस्तु समसामयिक भएको र दृश्यहरू पनि सुन्दर रहेको प्रतिक्रिया दिएका थिए । फिल्मको प्रशंसा गरिरहँदा उनले निर्माण टिमलाई दर्शक जम्मा गर्ने चुनौतीका बारेमा अवगत गराए ।
बाबुरामसँगै फिल्म हेर्न आएकी मानुषी भट्टराईले भने फिल्म नेता तथा नीति निर्माण गर्ने ओहदामा बसेका सबैले अनिवार्य रूपमा हेर्नुपर्ने खालको रहेको टिप्पणी गरेकी थिइन् ।
‘देश के हो र हामी वर्तमानमा कसरी बाँचिरहेका छौँ भन्ने कुरा फिल्मले छर्लङ देखाएको छ । यो आम दर्शकसँगै देशको नीति निर्माण गर्ने तहमा बसेका सबैले हेर्नुपर्ने फिल्म बनेको छ । मलाई त फिल्म असाध्यै सुन्दर लाग्यो,’ मानुषीले भनिन् ।
गत चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठ मुख्य भूमिका छ ।