नबिन सुब्बा को निर्देशन मा बनेको नेपाली कथानक चलचित्र‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित कार्यक्रमबीच फिल्मको टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा फिल्मको थिम बुझाउन खोजिएको छ। गाउँमा बाटो नहुँदा भोग्नुपरेको समस्यादेखि सडक बनिसकेर पहिलोपटक गाडी पुग्दाको खुसीसमेत टिजरमा देख्न सकिन्छ। साथै टिजरमा बाबुछोराको सम्बन्धलाई पनि समेटिएको छ।
टिजर रिलिज कार्यक्रममा निर्देशक सुब्बासहित फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई, बाल कलाकार प्रसन राईलगायतको उपस्थिति थियो।
जहाँ अभिनेता दयाहाङ राईले यो फिल्मले गाउँमा सडक र गाडी पुगेपछिको परिवर्तनको कथा रहेको बताए।
‘गाउँमा बाटो आयो, बाटोसँगै गाडी आयो। तर, त्यसले गाउँबाट धेरै कुरा लग्यो होला! गाउँमा सडक पुगेपछिको कथा र परिवर्तन यो सिनेमाले भन्नेछ,’ उनले भने, ‘गाउँ आएको बाटो एउटा सरल कथा हो। तर, त्यो सरल अनि परिवारको कथाभित्र हामीले विभिन्न तरिकाले त्यसका अन्य तह बुझ्दा धेरै कुरा बुझ्न र महसुस गर्न पाइन्छ।’