नेपाली चलचित्र ‘महाजात्रा’ ले ५१ दिन मनाएको छ। शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको फिल्म चैत ९ गते रिलिज भएको थियो। ‘महाजात्रा’ प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन ।
फिल्मले काठमाडौं उपत्यकामा क्युएफएक्स, आइएनआई, बिग मुभिज, एफक्युब, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जन सिनेप्लेक्स, सिके सिनेमाज र मोफसलमा नेपालगञ्जमा रहेको सिने रोयलमा ५१ दिनको यात्रा पूरा गरेको हो। यो अवसरमा शनिबार दिउँसो निर्माण टिमले केक काटेर खुशी साट्यो।
सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमामा आयोजित कार्यक्रममा अभिनेता हरिवंश आचार्यले यतिबेला नेपाली फिल्मको माहोल राम्रो रहेको बताए। ‘महाजात्रापछि रिलिज भएका अरू नेपाली फिल्म पनि राम्रो चलिरहेका छन्। हलहरू नेपाली फिल्ममय भएका छन्। यो एकदमै राम्रो पक्ष हो,’ उनले भने।
अभिनेता दिव्य देवले ‘महाजात्रा’ आफ्नो करिअरको सबैभन्दा सफल फिल्म बनेकोमा यसको टिमसँगै दर्शकलाई धन्यवाद दिए।
अभिनेता रवीन्द्र झा, शिशिर वाङ्देल, बाल कलाकार अर्बिन खड्का लगायतले पनि दर्शकलाई धन्यवाद दिए।
अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत नेपालबाहिर रहेकाले सेलिब्रेसनमा उपस्थित भएनन्। नेपालबाहिरै रहेका निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता एवं अभिनेता रवीन्द्र सिंह बानिया र निर्माता म्याक्स दिपेश खत्रीले भिडिओ सन्देशमार्फत दर्शकलाई धन्यवाद दिएका छन्।
भिडिओमा निर्देशक प्रदीपले सबैको मायाले फिल्मले ५१ दिन मनाउन सफल भएको भन्दै खुसी व्यक्त गरे। निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले दर्शकको मायासँगै कलेक्सन पनि राम्रो गर्न सफल भएको बताए। उनले फिल्मले नेपालमा १६ करोड ८ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको जानकारी दिए।
कार्यकारी निर्माता एवं अभिनेता रवीन्द्र सिंह बानियाले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा साथ दिने सबैलाई धन्यवाद दिए। उनले दर्शकलाई मनोरञ्जन दिने अर्को फिल्म बनाउनका लागि आफूहरू जुटिसकेको बताउँदै २०८२ सालको दसैंमा फिल्म प्रदर्शनमा ल्याइने बताए।
‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको समेत निर्माण टिमले जनाएको छ। म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेलले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन्।
‘महाजात्रा’ का अघिल्ला शृंखलाले पनि मनाएका थिए ५१ दिन
षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको ‘महाजात्रा’ फिल्म ‘जात्रा’ को तेस्रो शृंखला हो। यसका अघिल्ला दुवै शृंखलाले पनि ५१ दिन मनाउन सफल भएका थिए। यी बाहेक षट्कोण आर्टसको ब्यानरमा बनेको ‘महापुरूष’ पनि ५१ दिनभन्दा लामो समय हलमा चलेको थियो।
प्रदीप भट्टराईले जति फिल्म निर्देशन गरे, सबैले ५१ दिन मनाए
निर्देशक प्रदीप भट्टराईले ‘महाजात्रा’ अघि निर्देशन गरेका चारवटै फिल्मले पनि प्रदर्शनको ५१ दिन मनाएका थिए। जसमा ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रु गते’ र ‘महापुरूष’ छन्। ‘महाजात्रा’ प्रदीपको पाँचौं निर्देशकीय फिल्म हो।