हिजो १० गते बिहीवार बाट नेपाली चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ देशभर प्रदर्शन भएका छन । यि दुबै चलचित्रले दर्शकको साथ पाएका छन्। प्रदर्शनको पहिलो दिन यी दुबै फिल्महरूमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
अनमोल केसी स्टारर ‘फर्की फर्की’ ले आक्रामक ओपनिङ गरेको वितरक गोबिन्द्र शाहीले जानकारी दिए। अनमोल र जसिता गुरुङलगायतका कलाकारहरू उपत्यकाका हल हलमा पुगेका थिए। जहाँ दर्शकहरूमाझ अनमोलको क्रेज गजबको देखिएको थियो। फ्यानहरूसँग फोटो खिँच्न अनमोल निकै व्यस्त देखिन्थे।
सुयोग गुरुङको लेखन र निर्देशन रहेको ‘फर्की फर्की’ अनमोल र जसितासहित रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ। पहिलोपटक स्क्रिन सेयर गरेका अनमोल र जसिता यस फिल्ममा जोडीको रुपमा देखिएका छन्। टाइम लुपको कथामा बनेको यस फिल्मको निर्माता रोहित अधिकारी हुन।
पुजार सार्कीको बिहिबारका शोहरू हाउसफुल भएको वितरक रोहित कट्टेलले जानकारी दिए। ‘पहिलो दिन पुजार सार्कीले उत्साहजनक ओपनिङ गरेको छ। बिहिबारका शोहरु हाउसफुल थिए। तर, कलेक्सन भने हामी भोलिमात्रै सार्वजनिक गर्नेछौँ’,उनले भने।
पुजार सार्कीका मुख्य कलाकारहरू पनि बिहानदेखि उपत्यकाका हल भिजिटमा पुगेका थिए। जहाँ उनीहरूले दर्शकसँग फोटो खिचाउँदै खुसी साटे।
‘पुजार सार्की’ मा तीन ठूला स्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा देखिएका छ। यस फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा भन्छ। फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ।
फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गरेका हुन्।










