•            
    • sajhaonlinetv. com

    • २६ असार २०८१, मंगलवार १२:२०

    समाजवादी मोर्चा ब्युँताउँदै प्रचण्ड-माधव

    काठमाडौँ — नेकपा माओबादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार टिकाउन प्रयोग भएको समाजवादी मोर्चा फेरी ब्युँताउने तयारी गरेका छन् । दाहाल सरकारबाट बहिर्गमन भएपछि विपक्षी वाम दलहरुको साझा थलोको रुपमा अघि बढाउन छलफल भइरहेको छ ।
    कांग्रेस, एमाले गठबन्धन सरकारविरुद्ध संसद र सडकमा उभिने गरी दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मोर्चालाई सक्रिय गराउने तयारी थालेका छन् ।
    कांग्रेस-एमाले गठबन्धन बनेपछि माओवादी र एकीकृत समाजवादी विपक्षी दलको हैसियतमा रहनेछन् । त्यसपछि मोर्चाले कांगेस एमाले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने नेताहरुको दाबी छ ।
    पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेसहित करिब दुई तिहाइ गठबन्धन नजिक रहेको बलियो सरकारविरुद्ध मोर्चाबन्दी गर्ने दाहाल र नेपालको तयारी छ । कांग्रेसलाई दबाबमा राख्न, दाहाल सरकार बलियो बनाउन, माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जनता समाजवादी नेपाल र संसद बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनेको थियो ।
    कांग्रेस, माओवादी गठबन्धनका बेला सक्रिय रहेको मोर्चा फागुन तेस्रो साता एमालेसँग समीकरण बनेपछि निश्क्रिय भएको थियो । एमालेले समीकरणभित्र अर्को मोर्चा आवश्यक नभएको बताएपछि त्यसको गतिविधि ठप्प छन् । एमालेले विरोध गरेपछि दाहालले मोर्चालाई निष्क्रिय बनाएका थिए ।
    नेकपा महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द (विप्लव) ले माओवादी, एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधि तीब्र हुने बताए । ‘केही समय यता नेपाली राजनीतिमा उतारचढाव आयो । समाजवादी मोर्चा त्यति सक्रिय भएन’ उनले भने, ‘प्रमुख दल सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधिलाई तीव्रता दिन्छौं ।’ उनले यही साता मोर्चाको बैठकमा आगामी कार्यक्रमबारे छलफल गर्ने बताए ।
    ‘वामपन्थी, कम्युनिस्ट र समाजवादी शक्तिहरुबीच ध्रुवीकरण गरी जनताका मुद्दाहरुलाई उठाउँछौं’ उनले भने, ‘मार्चामा समाजवादी विचार राख्ने अरु दलहरुलाई समेटेर जाने भन्ने छ ।’ मोर्चालाई पुनर्गठन गरी यसको दायरलाई अझै फराकिलो बनाइने उनको भनाइ छ ।
    माओवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चा स्वतः सक्रिय हुने माओवादी महासचिव देव गुरुङको भनाइ छ । राजनीतिक, वैचारिक र समाजवादी आन्दोलनको रुपमा मोर्चाका गतिविधि केन्द्रित गर्ने उनले भने, ‘यो अब आन्दोलनका रुपमा अघि बढ्छ ।’ बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबाट अलग भएको महेन्द्र यादव र अरु वाम–समाजवादी समूहहरुलाई समेट्ने चन्दको भनाइ छ ।
    ‘नेपालमा वाम र समाजवादीबीच ध्रुवीकरण आवश्यक भइसकेको छ’ उनको भनाइ छ, ‘आर्थिक समृद्धिका लागि समाजवादी क्रान्ति अघि बढाउन पनि यस्तो शक्ति चाहिन्छ ।’
    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मोर्चाको उद्देश्यलाई पुनःपरिभाषित गरी नेपाली मोलिकताको समाजवादी क्रान्तिको आधार निर्माणमा केन्द्रित हुने बताए । ‘बदलिँदो राजनीतिक परिस्थितिमा मोर्चालाई दीर्घकालीन राजनीतिक उद्देश्यका साथ परिभाषित गरेर अघि बढ्नुपर्छ’ उनले भने, ‘पार्टीहरु सरकारमा भएको बेला गठन भएको मोर्चालाई प्रतिपक्षमा गएपछि नयाँ ढंगले अघि बढाउनु पर्ने हुन्छ । त्यसरीनै कार्यक्रम बनाइने छ ।’
    अघिल्लो समीकरणमा रहँदै विभाजन भोगेको जनता समाजवादी नेपाल भने मोर्चाबाट बाहिरिने संभावना छ । जसपा नेपालका नेता प्रकाश अधिकारीले समाजवादी आन्दोलनलाई अघि बढाउने दीर्घकालीन उद्देश्यका साथ मोर्चा गठन भनए पनि त्यसलाई सरकार जोगाउने हतियारको रुपमा बनाइएको बताए । एउटै मोर्चामा रहेको पार्टीलाई विभाजन गर्न काम भएको उल्लेख गरे ।
    ‘मोर्चाभित्र रहेको पार्टीलाई टुक्रयाउने क्रियाकलाप हुन्छ भने कसरी मोर्चा बस्ने भन्ने प्रश्न छ’ उनले भने, ‘विगतमा सत्ता टिकाउने बहानाको रुपमा मोर्चा प्रयोग भयो ।’
    २०८० असार ४ मा घोषणा भएको मोर्चाले ‘सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य’ लिएको थियो ।
    ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने’ प्रमुख उद्देश्यमा भनिएको छ ।
    वाम झुकाव राख्ने दलहरु मिलेर मोर्चालाई अघि बढाएका थिए । वाम झुकाव राख्ने दलहरु मिलेर मोर्चालाई अघि बढाएका थिए । ‘जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोहलगायतका विभिन्न समुदायले गरेका आन्दोलनबाट विकसित २०६२/६३ सालको जनक्रान्तिका उपलब्धीस्वरूप प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागत विकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवम् सामाजिक न्यायसहितको अग्रगामी रूपान्तरण तथा नेपाली विशेषताको समाजवादको लक्ष्य प्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने सङ्कल्प’ गरे पनि त्यतिबेला यो मोर्चा प्रमुख प्रतिपक्षमा रहेको दल एमालेप्रति आक्रामक भएको थियो । प्रधानमन्त्री भएको बेला ओलीले गरेको संसद विघटनको मुद्दालाई प्राथमिकतामा साथ उठाएका थिए
    मोर्चाले सातै प्रदेशमा केन्द्रीय स्तरको सभा गरेर दाहाल, नेपाललगायत प्रमुख नेताहरुले सम्बोधन गरी मुलुकमा आर्थिक समृद्धिसहित समाजवाद स्थापना गर्ने दाबी गरेका थिए ।
    ‘मुलुकमा विद्यमान रहेको राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिक समस्या र चुनौतिको सामना गर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यकता छ’ सभामा नेताहरुले भनेका थिए ।
    हाल कांग्रेस, एमालेबीच समझदारी भएको भएको संविधान संशोधनलाई मोर्चाको उद्देश्यमा लेखिएको छ । त्यस्तै संविधानको कार्यान्वयन गर्ने दाबी गरेका उनीहरुले प्रदेशलाई अति आवश्यक पर्ने कानुन अघि बढाएनन् । शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने प्रतिबद्धता गरेपनि दलहरुबीच विवादका कारण सहमति हुन सकेन ।
    ‘संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी कामहरूको पूर्णता र सङ्घीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने’ मोर्चाको उद्देश्यमा भनिएको छ ।
    मोर्चाले अघि सारेका ‘राजनीतिक, आर्थिक, सामाजिक र साास्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी,आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडावर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग लगायतका सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउन’ पनि सरकारको नेतृत्व गरेको माओवादी, एकीकृन समाजवादी र जसपा नेपालले प्राथमिकतमा राखेनन् ।

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै