काठमाण्डौ ,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको साथमा शुक्रबारै राष्ट्रपति निवास पुगेर नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले शीतल निवास पुगेर दाबी पेस गरेका हुन्।
दाबी पेस गर्न एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले प्रमुख सचेतक महेश बर्तौला, पूर्वमहान्यायाधिवक्ता रमेश बराल लगायत शीतल निवास पुगेका थिए।
दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष केही बेरअघि दाबी पेस गरिएको कांग्रेस र एमालेद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री नियुक्ति आइतबार हुनेछ र सोही दिन शपथ गराइनेछ।