काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् । उनी मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबिच असार १७ मा प्रतिनिधि सभाको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए बमोजिम पहिलो चरणमा ओली प्रधानमन्त्री बनेका हुन् ।
आइतबार नियुक्त भएका प्रधानमन्त्री ओलीले सोमबार शपथ लिएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जसका लागि उनले कांग्रेस नेताहरूसँग मन्त्रालय भागबण्डाको गृहकार्य तीव्र बनाएका छन् । एमाले अध्यक्ष ओली मुलुकको ४५ औँ प्रधानमन्त्री बन्दै गर्दा नेपाली राजनीतिमा कयौँ प्रश्न पनि उठिरहेका छन्, जुन अहिलेसम्म अनुत्तरित नै छन् ।
कतिपयले पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउनुपर्ने अहिले के आपत् आइलाग्यो भन्नेजस्ता प्रश्न उठाएका छन् ।
मुलुकको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेसँगै कांग्रेस र एमालेका नेताहरूले राजनीतिक स्थिरता र सुशासनलाई प्रमुख आधार बनाएका छन् । तर उनीहरूको भनाइमा माओवादी केन्द्र लगायतका सत्ता बाहिर पुगेका दलले विश्वास गर्न सकिरहेका छैनन् ।










