नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति समृद्धिका र सफलताको शुभकामना व्यक्त गरेका छन् ।
ओलीले शुभकाना सन्देशमा सत्ता गठबन्धन र सरकारमाथि आक्रोश पोखेका छन् । नयाँ वर्षको अवसरमा जनविरोधी र राष्ट्रहीतविपरीत चल्ने स्वार्थी समूहले फैलाउने भ्रामक अफवाह र गलत सूचनाप्रति सबैलाई सचेत रहन सबैलाई उनले आग्रह गरे ।
उनले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको पनि बताए । यस्तै उनले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी कुरा हुने भन्दै किमार्थ स्वीकार्य नहुने बताए ।
नयाँ वर्षको शुभकामना
आज विक्रम सम्बत् २०७९ को पहिलो दिन, अर्थात् बैशाख १ गते । यस दिनलाई हामी नेपालीले आफ्नो मौलिक परम्परा अनुरुपको नयाँ वर्षको पहिलो दिनको रुपमा मनाउँदै आएका छौँ । यस सुखद् अवसरमा म, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही अवाञ्छित शक्तिहरुका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकाङ्क्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धि तर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।