काठमाडौँ — अनमोल केसीको मुख्य भूमिका रहने नेपाली फिल्म ‘जेरी अन टप’को छायांकन सुरु भएको छ । सोमबार पाटनको मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन थालेको हो ।
अनन्या फिल्म्सको ब्यानरमा तयार हुने यो फिल्मको छायांकन काठमाडौंलगायत लुक्ला र भारतको लद्दाखमा गरिने बताइएको छ ।
सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दिपक भण्डारी, रोविन सेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । सुयोग गुरुङको निर्देशन रहने फिल्ममा हेमराज बिसीको कथा छ । उज्जल जोशीले फिल्मलाई खिच्नेछन् भने फिल्मको सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् ।
फिल्ममा अनमोलसँगै उनका बुवा भुवन केसीले पनि अभिनय गर्नेछन् । फिल्ममा उनी दुईसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, संगीता मगर र सुष्मा निरौंलाको अभिनय रहनेछ ।