काठमाण्डौ । निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘जन्ते बाख्रो’को मुख्य नायिकामा गरिमा शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार सिनेमाको निर्माण टिम र अभिनेत्री शर्माबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।
अभिनेत्री शर्मा अडिसनबाट सिनेमाको मुख्य अभिनेत्रीमा छनोट भएकी हुन् । आगामी पुष १ गतेबाट छायांकनमा निस्कने तयारीमा रहेको सिनेमाको मुख्य अभिनेतामा यसअघि नै अभिनेताद्धय सौगात मल्ल र आशिफ शेख अनुबन्धित भैसकेका छन् । उनीहरु दुवै जनासँग अभिनेत्री शर्मा जोडीको रुपमा अभिनय गर्न लागेको निर्माण टिमले जानकारी दिएको छ ।
‘लण्डन टु पेरिस’बाट नेपाली रजतपटमा डेव्यु गरेकी गरिमाले ‘ह्रस्व दीर्घ’ र ‘वर एण्ड वधु’मा नायिका को भूमिकामा काम गरिसकेकी छिन । म्युजिक भिडियोबाट चर्चामा आएकी गरिमा पहिलो पटक सिनेमा सोलो अभिनेत्रीको रुपमा अभिनय गर्न लागेकी हुन् । यो सिनेमालाई लिएर अभिनेत्री शर्मा उत्साहित देखिएकी छन् । मंसिर २० गतेबाट वर्कसप सुरु हुन लागेको सिनेमाको रिलिज टार्गेट आगामी जेठलाई राखिएको छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ । सिनेमालाई हरि हुँमागाईले खिच्ने छन् ।










