निराज रानाभाट, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका -४, हुलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ५० वर्षीय मिना दर्लामी आफ्नै घरभित्र मृत भेटिएको स्थानीय भोला सिंह थापा मगरले जानकारी दिए । मगरका अनुसार मृतकको शरीरमा गम्भीर चोट र रगत देखिएको छ । मिना आफ्ना श्रीमान् शिव बहादुर दर्लामीसँगै घरमा बस्दै आएकी थिइन् । आइतबार राति करिब ९ देखि १० बजेको समयमा घटना भएको अनुमान गरिएको छ ।
त्यस्तै, घटनास्थलमा शवको अवस्थाले हत्या भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र मुचुल्का तयार भएपछि छानबिन अघि बढ्ने बताएका छन ।