•            
    • sajhaonlinetv. com

    • २७ माघ २०८१, आईतवार ०६:००

    चलचित्र ‘सतीदेवी’को विशेष शोमा सकारात्मक प्रतिक्रियाको वर्षा,पुनः प्रदर्शन गर्न सुझाव

    काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन र मल्लिका महतको प्रमुख अभिनय रहेको चलचित्र ‘ सतीदेवी ’ को विशेष शोमा सकारात्मक प्रतिक्रियाको वर्षा आएको छ । चलचित्रले धेरैको मन जित्दै सकारात्मक टिप्पणी पाएको छ, जसमा दर्शकहरूले लक्ष्मणलाई चलचित्रको पुनः प्रदर्शन गर्ने र देशभर च्यारिटी शोमार्फत प्रदर्शन गर्ने सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले चलचित्रलाई समाज र संसारलाई चिन्ने महत्वपूर्ण साधनको रूपमा व्याख्या गरे । विरहीले चलचित्रको समाजको कटु सत्यलाई मर्मस्पर्शी तरिकाले प्रस्तुत गरिएकोमा निर्देशक लक्ष्मण र कलाकारहरुलाई बधाई दिएका छन् । यस्तै, चर्चित कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि चलचित्रको निर्देशन र सन्देशको प्रशंसा गर्दै, चलचित्रमा दिइएको शिक्षा र सन्देशको महत्त्वमा जोड दिइन् । निरौलाले भनिन्,‘चलचित्रले छोरीलाई शिक्षा दिनु पर्छ भन्ने सन्देशलाई राम्रो तरिकाले प्रस्तुत गरेको छ र हामी सबैलाई यो सन्देशलाई ग्रहण गर्नु पर्छ ।’ त्यस्तै, नेपाल तरुण दलका पूर्व महामन्त्री भूपेन्द्र जंग शाही, जो लामो समयपछि चलचित्र हेरेका थिए, शाहीले भने,‘यो चलचित्र नेपाली फिल्म जगतमा ठूलो परिवर्तन ल्याउने खालको हो । यसले समाजमा नेपाली नारीले भोगेको कथा सचित्र प्रस्तुत गरेको छ । चलचित्रको सन्देश र कथा भनाइको तरिका पनि राम्रो छ । यो चलचित्र सहर र हल केन्द्रित नभई गाउँ – गाउँसम्म पुर्‍याउन जरुरी छ ।’
    त्यसैगरी, निर्देशक मिलन चाम्सले पनि चलचित्रको विषयवस्तु र समाजको ऐना भएको टिप्पणी गर्दै, लक्ष्मणलाई धन्यवाद दिएका छन् । चलचित्र निर्माता प्रेम कुमार श्रेष्ठ, गायिका रानु निरौला, कलाकार शरण थापा, चर्चित कलाकार तथा निर्देशक दीपक आचार्य ‘ काकु ’ र संगीतकार चेतन सापकोटाले पनि चलचित्रको कथा र अभिनयलाई उत्कृष्ट भनेका छन् । गायिका रानु निरौलाले भनिन्,‘यो चलचित्र मेरो आफ्नै जीवनसँग मेल खाएको थियो र म भावुक भएँ ।’ यसैगरी, चलचित्र हेरेपछि वरिष्ठ पत्रकार जगत नेपाल, लेखक तथा वरिष्ठ पत्रकार मनऋषि धिताल, जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. का प्रबन्ध निर्देशक तथा जन अपडेट डट कमका सम्पादक निराज रानाभाट, नेपाल प्रेस डट कमका सम्पादक चिरञ्जीवी पौडेल, नेपाल समाचार पत्र दैनिकका सम्पादक सागर पण्डित, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, विकास न्युजका सम्पादक रामकृष्ण पौडेल, शिला पत्रका सम्पादक जनक नेपाल, निर्देशक यादव भट्टराई, निर्माता सुमन गिरी ‘ भान्जा ’, निर्देशक डा. कपिल रिजाल, पत्रकार मनिराज गुरुङ, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रकाश थापा, अभिनेता तथा राष्ट्रवाणी मिडिया नेटवर्क प्रा.लि. का अध्यक्ष एवं राष्ट्रवाणी डट कमका सम्पादक दीपा थापालगायतले चलचित्र हेरेर उत्कृष्ट प्रतिक्रिया दिँदै पुनः यस प्रकारको विषयवस्तुका चलचित्रलाई राज्यले मात्र नभई विश्वभर पुर्‍याउन पहल गर्नु पर्ने धारणा राखेका छन् ।
    चलचित्र ‘ सतीदेवी ’ ले नेपाली समाजमा महिला र पुरुषबीचको असमानता र छोरीहरूको अधिकारको विषयलाई प्रभावकारी तरिकाले उठान गरेको छ, जसका कारण यसले दर्शकहरुको मनमा गहिरो प्रभाव छोडेको छ । यस चलचित्रको सकारात्मक प्रतिक्रियाले समाजमा परिवर्तनको आवश्यकता र तिनका लागि प्रभावशाली सन्देशको महत्त्वलाई अझ प्रष्ट बनाएको छ । चलचित्र ‘ सतीदेवी ’ मा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिला बाँनिया, मनीषा सापकोटा, तुलसी श्रेष्ठ, सुजिता शिवाकोटी, इश्वरी सिंह, सन्देश लिम्बु, पवन के.सी., जगदीश अधिकारीलगायतको दमदार अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको चलचित्रको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी रहेका छन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियसन प्रा.लि. को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा र संवाद छ । बाबु श्रेष्ठले छायांकन रहेको चलचित्रलाई तारा थापा ‘ किम्भे ’ ले सम्पादन गरेका हुन् । चलचित्रले यसअघि केही चलचित्र महोत्सवमा अवार्ड समेत पाइसकेको छ ।

    सम्बन्धित खवर

    आज देखि ‘होस्टेल ३’ देशब्यापी प्रदर्शन हुँदै

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै