नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्।
माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा शनिबार डोटीको दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारबाट हट्नुको कारणमा पुनः सोही कुरा दोहोर्याएका हुन्।
यद्यपि माओवादी केन्द्रलाई तीन-तीन पटकसम्म सरकारमा पुर्याएको कांग्रेस र एमाले नभएको उनले बताए।
‘हामीलाई सिंहदरबारमा पुर्याउने, विस्तृत शान्ति सम्झौतामा पुर्याउने, हामीलाई तीन-तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्याउने कांग्रेसहरू एमाले होइन। गरिब, मजदुर किसान र उत्पीडित वर्ग, समुदायले पुर्याएको हो,’ उनले भने।
तर यसबीचमा जति जनताको नजिक जानुपर्ने र उनीहरूको कुरा सन्नुपर्ने हो, त्यहाँ कमजोरी भएको अध्यक्ष प्रचण्डले बताए।