नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा फेरि माओवादी लहर बलियो बन्दै गएको दाबी गरेका छन् । शनिबार पोखरामा आयोजित मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गतको जनसंवाद कार्यक्रममा उनले माओवादी आन्दोलनको पुनरागमनको संकेत दिँदै जनतालाई नयाँ क्रान्तिको तयारीमा जुट्न आह्वान गरे ।
अध्यक्ष दाहालले भने, ‘देश माओवादी मय बन्दै गइरहेको छ । मध्यपहाडी लोकमार्ग, तराई–मधेश अभियानमा मैले के महसुस गरेको छु भने २०६४ सालजस्तै माओवादी मय बन्दैछ देश । वृद्ध वृद्धा, युवायुवती, बालबालिका सबै फेरि माओवादीप्रति समर्पित हुने भावना देखिएको छ ।’