काठमाडौँ । लेखिका तथा निर्देशक सहारा शर्माको नयाँ फिल्म ‘एक मुठी बादल’ (माई सेयर अफ स्काई) आगामी जेठ १ गते (मे १५) बाट देशभर प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले फिल्मको आधिकारिक प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
गौथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रका अधिकांश प्रमुख विधामा महिलाहरूको नेतृत्व रहेको निर्माण पक्षले जनाएको छ । नेपालभर फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ ।
तीन पुस्ताको जीवन र सम्बन्धलाई केन्द्रमा राखेर बनाइएको यस फिल्मले परिवर्तनशील नेपाली समाजको परिवेशमा परिवारभित्रको अपेक्षा, त्याग र व्यक्तिगत सपना–आकाङ्क्षालाई भावनात्मक ढंगले प्रस्तुत गर्ने बताइएको छ ।
फिल्म प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ । चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ र मनिष निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
अभिमन्यु दीक्षित निर्माता रहेको यस फिल्ममा निकुन श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन् । निर्माण टिममा जर्मनीकी निर्माता सारा फाजिलातसँगै सामिप्यराज तिमल्सेना र अनुप पौडेल पनि आबद्ध छन् ।










