•            
    • sajhaonlinetv. com

    • ११ बैशाख २०८३, शुक्रबार ०२:३९

    वैशाख ११: जनआन्दोलनको ऐतिहासिक जित सम्झिँदै देशभर लोकतन्त्र दिवस

    ११ वैशाख, काठमाडौं । नेपालमा आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। वैशाख ११ लाई देशको राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण मोडको रूपमा लिइन्छ—जहाँबाट नयाँ नेपालको यात्रा सुरु भएको मानिन्छ।

    यो दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएको र जनताको चाहनाअनुसार लोकतान्त्रिक व्यवस्था पुनःस्थापित भएको स्मरणमा मनाइन्छ। त्यसैले प्रत्येक वर्ष यही दिनलाई लोकतन्त्र दिवसका रूपमा विशेष महत्वका साथ मनाउने परम्परा बसेको छ।

    वि.सं. २०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्दा सात राजनीतिक दल र नेकपा (माओवादी) समेतको संयुक्त आन्दोलनले व्यापक जनसमर्थन पाएको थियो। जनताको दबाब अगाडि निरंकुश राजतन्त्र टिक्न नसकी यही दिन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने घोषणा गरेका थिए। साथै, राजनीतिक दलले तय गरेको मार्गचित्रअनुसार अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
    पुनःस्थापित संसद्को जेठ ४ गते बसेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको जिम्मेवारी प्रधानमन्त्रीलाई सुम्पिएको थियो, जसले देशलाई पूर्ण लोकतन्त्रतर्फ अघि बढाउने बाटो खोल्यो।
    यसअघि वि.सं. २०५९ जेठ ८ मा विघटन गरिएको संसद् लामो समयसम्म पुनःस्थापना हुन सकेको थिएन। सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताका कारण निर्वाचन हुन नसक्दा राजा ज्ञानेन्द्र शाहले विभिन्न व्यक्तिहरूलाई पटक–पटक प्रधानमन्त्री नियुक्त र बर्खास्त गर्ने क्रम चलेको थियो।
    यस क्रममा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा जस्ता नेताहरू प्रधानमन्त्री बनेका थिए। अन्ततः जनआन्दोलनको सफलतासँगै २०६३ वैशाख ११ मा संसद् पुनःस्थापना भएपछि २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।
    यस दिनले जनताको शक्ति, एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा अझै पनि विशेष महत्व राख्दै आएको छ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै