काठमाडौं । दयाहाङ राई, सौगात मल्ल र टेरिया मगरको मुख्य अभिनय रहेको फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ट्रेलरले ग्रामीण परिवेश, मितेरी सम्बन्ध र जिप चालकबीचको प्रतिस्पर्धालाई मुख्य कथावस्तु बनाएको संकेत गर्छ ।
जीएम मूभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गाउँमा नयाँ बनेको सडकमा जिप चलाउने दुई साथीको कथा प्रस्तुत गरिएको छ । उनीहरूले मितेरी साइनो लगाएका हुन्छन् र यात्रु बोक्ने क्रममा कसले छिटो गन्तव्य पुग्ने भन्ने प्रतिस्पर्धा चलिरहन्छ । यही प्रतिस्पर्धाबीच उनीहरूको सम्बन्धमा उतारचढाव र द्वन्द्व पनि देखिन्छ ।
ट्रेलरमा ग्रामीण जीवनशैली, गाउँघरको बोलीचाली र संस्कृतिलाई प्राथमिकताका साथ समेटिएको छ । एक दृश्यमा मितको घरमा भाले बोकेर पुगेका पात्रलाई टेरिया मगरले गाउँले शैलीमा ‘भाले मात्रै होइन, पोथी पनि ल्याउनुपर्थ्यो नि’ भन्दै गरेको संवादले दर्शकको ध्यान खिचेको छ ।
त्यसैगरी, मितेरी सम्बन्धलाई सामान्य रूपमा नलिन ज्योतिषी पात्रले दिएको चेतावनीले कथामा रहस्य र तनाव थपिएको देखिन्छ । ट्रेलरमा मित्रता, संघर्ष, कलंक र सम्बन्धभित्रको भावनात्मक द्वन्द्वलाई पनि देखाइएको छ ।
निर्माता जनक घर्ती मगरको निर्माण रहेको फिल्मलाई अनिल बुढामगरले निर्देशन गरेका हुन् । फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई तथा खड्गबहादुर पुनमगरको पनि अभिनय रहेको छ ।
यसै फिल्ममार्फत टेरिया मगरले अभिनेत्रीको रूपमा डेब्यू गरेकी हुन् । ‘मितज्यू’ नेपालमा आगामी ८ जेठदेखि प्रदर्शनमा आउने तयारीमा छ । नेपालसँगै हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा पनि प्रदर्शन हुने जनाइएको छ ।










