काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग आज महत्वपूर्ण छलफल गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नवगठित नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै होइन, संयुक्त छलफल गर्ने कार्यक्रम तय भएको हो।
यद्यपि, राष्ट्रपतिसँग हुन लागेको यस भेटवार्ताको स्पष्ट एजेन्डा भने सार्वजनिक गरिएको छैन। पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरण र आगामी मार्गचित्रबारे छलफल हुन सक्ने अनुमान गरिए पनि राष्ट्रपति कार्यालयले औपचारिक रूपमा केही खुलाएको छैन।
राजनीतिक रूपमा संवेदनशील अवस्थामा हुन लागेको यो छलफललाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। शीर्ष नेताहरूबीचको भेटले आगामी राजनीतिक दिशा कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ।










