२० पुस, काठमाडौँ । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
सार्वजनिक रूपमा बयान दिन नजाने भन्दै आलोचना गर्दै आएका ओलीलाई आयोगले औपचारिक रूपमा पत्राचार गरेको हो। सरकारले असोज ६ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
तीन महिनाको कार्यकाल पाएको आयोगले समय अपुग भएपछि थप एक महिना म्याद पाएको छ। यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका प्रमुखहरू र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ।
लेखकको बयान सकिएपछि आयोगले घटनासम्बन्धी थप तथ्य संकलनका लागि तत्कालीन प्रधानमन्त्री ओलीसँग पनि बयान लिन प्रक्रिया अघि बढाएको जनाएको छ।










