•            
    • sajhaonlinetv. com

    • ६ बैशाख २०७९, मंगलवार १६:२८

    महानगर र उपमहानगरपालिका भागबण्डामा सहमति :माओवादी केन्द्रलाई भरतपुर

    सत्तारुढ गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

    त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

    नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने  सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।

    ७ उपमहानगरपालिका कांग्रेसलाई 

    महानगरपालिकाको भागवण्डा लगभग टुंगोमा पुर्‍याएका सत्तारुढ  गठबन्धनका चार दलले ११ उपमहानगरपालिकाको छिनोफानो पनि मंगलबार नै गर्ने तयारी गरेका छन् ।

    गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेको छैन ।

    यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने भनिए पनि पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने निश्चित भएको थियो ।

    तर बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने बताएपछि फेरि सहमति भाँडिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार जनकपुरका बारेमा देखिएको विवाद र उपमहानरपालिकाका उपमेयरको टुंगो मंगलबारकै छलफलले लगाउनेछ ।

    घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको मस्यौदा बनेको छ । यस्तै हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ ।

    अहिलेसम्मको सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्ने छ । यद्यपि छलफलका क्रममा उपमहानगरको भागवण्डा फेरबदल हुन पनि सक्ने गठबन्धन स्रोतको भनाइ छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै