नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज बाट अधिकारिक रुपमा बिभाजित भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावको बिषयलाई लिएर बढेको विवाद एक अर्कालाई कारबाही गर्ने तहसम्म पुगेको थियो ।
१४ वैशाखमा विप्लवले दुई नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई निकालेपछि त्यसको बदलामा विद्रोही समूहले आज बुधबार विप्लवलाई पनि पार्टीबाटै निकालेको छ ।
चितवनको पर्सामा आयोजित राष्ट्रिय भेलाबाट विप्लवलाई पार्टीबाटै र खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ भने धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक तोकेको छ । दुवैतर्फबाट भएका यी निष्कासनसँगै नेकपा औपचारिक रुपमै विभाजित भएको छ ।
गत चैत दोस्रो साता सुरु भएर कपिलवस्तुको शिवगढीमा एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए । तर उनको प्रस्ताव अल्पमतमा परेको थियो । विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत केन्द्रीय सदस्य विपक्षमा थियो ।
त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भएका थिए । चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिष्कार पनि नगर्ने भनेर बीचको निर्णय भएको थियो ।
लोहनी अहिले पनि अधिकांश केन्द्रीय सदस्य चुनाव बहिष्कारकै पक्षमा रहेकाले आफूहरु बहुमतमा रहेको दाबी गर्छन् । ‘बहुमत साथीहरू अहिले पनि केन्द्रीय समितिको निर्णयभन्दा बाहिर जानुभएको छैन’ उनले भने, ‘हामी चुनाव बहिष्कारको पक्षमा छौं । पार्टी संसदवादमा गयो भन्नेमा एकमत छौं । यो मतमा अहिले पनि हामी बहुमतमै छौं ।’
नेकपा निर्वाचन आयोगमा दर्ता नभएकाले अल्पमत र बहुमतको अर्थ कानूनी भन्दा पनि राजनीतिक विषय हो । त्यही कारण बहुमत दाबी गर्नेतर्फ भन्दा पनि विद्रोही समूहले नयाँ पार्टी बनाउने योजना भएको छ । जारी राष्ट्रिय भेलाबाटै नयाँ पार्टी घोषणा हुने एक केन्द्रिय सदस्यले बताए ।
चुनावमा नजाने पक्ष बलियो भएपछि ‘चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने’ निर्णय कपिलवस्तुको केन्द्रीय समितिको बैठकबाट भएको थियो ।
तर, कपिलवस्तुबाट काठमाडौं फर्किएलगत्तै विप्लवले नेता विश्वकर्मालाई खटाएर आयोगमा पार्टी नै दर्ता गर्न खोजेपछि विवाद चुलिएको थियो । यद्यपि समय घर्किएको भन्दै आयोगले दल दर्ता गर्न भने मानेन । दल दर्ता नभएपछि आफ्नो प्रभाव भएका धेरै ठाउँमा नेकपाले स्वतन्त्र रुपमा उम्मेदवार उठाएको थियो ।
यसलाई पार्टी नीति विपरीत भन्दै बास्तोलाले १२ वैशाखमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए । यसबाट विप्लव क्रुद्ध थिए । र, त्यसको दुई दिनमै उनले बास्तोला र वलीलाई निष्कासन गरिदिए । सतहमा स्थानीय चुनावको उपयोगको विषयले विवाद बढाएको जस्तो देखिए पनि यसमा आर्थिक विषय पनि जोडिएको छ ।










